Home » » स्विट्जरल्यान्डको सपना जनतालाई... के हो स्विट्जरल्यान्ड ?

स्विट्जरल्यान्डको सपना जनतालाई... के हो स्विट्जरल्यान्ड ?


     लामो समयदेखि नेपाललाई स्विट्जरल्यान्ड बनाउने भाषण गर्दै र सुन्दै आइएको छ । नेपालजस्तै भूपरिवेष्ठित यो पहाडी मुलुकको नेपालसँग अरु के-के समानता छन् । किन अहिलेसम्म नेपाल यस्तै विकसित हुन सकेन ?
पञ्चायतकालीन नेताहरूले जनतालाई स्विट्जरल्यान्डको सपना देखाउँथे । 'हामी मुलुकलाई स्विट्जरल्यान्ड बनाउँछौं' भन्ने त नेताहरूको थेगोजस्तै थियो । प्रजातन्त्रकालमा पनि नेताहरूले यो थेगो छोडेनन्, सपना बाँड्न छोडेनन् । नेपालजस्तै पहाडी र भूपरिवेष्ठित भएर पनि समृद्ध मुलुक भएकाले स्विट्जरल्यान्डको सपना देखाइएको होला । बाँडिएका ती सपनाहरूले गर्दा मेरो मानसपटलमा स्विट्जरल्यान्डकै जस्तो सुन्दरता र समृद्धि हाम्रो मुलुकमा पनि हुनेछ भन्ने विश्वास स्थापित भएको थियो ।
यसैले मलाई स्विट्जरल्यान्डलाई 'लाइभ' हेर्ने कौतूहल थियो । मस्को युनिभर्सिटीमा पढ्दै गर्दा सन् १९९० मा त्यो कौतूहलले विश्राम पायो । ग्रीष्मकालीन छुट्टी मनाउने क्रममा सपनाको त्यो देशमा पहिलोपटक पाइला टेक्न पाएको थिएँ ।
अग्लो पहाडमा उभिएर सपनाको देशलाई एकपटक फनक्क घुमेर हेरें । स्विट्जरल्यान्डको अनुहारको एउटा पाटोचाहिँ देखेझैं लाग्यो । नेपालका जस्तै पहाडहरू तर अलि सानासाना । नेपालका पहाडहरूलाई मानिसहरूले बेवास्ता र प्रकृतिले वास्ता गरेजस्तो लाग्छ तर स्विट्जरल्यान्डका पहाडहरूलाई प्रकृतिले भन्दा मानिसले वास्ता गरेका रहेछन् । सजाएका रहेछन् । ती पहाडहरू प्रायः एकै किसिमका जुम्ल्याहा सन्तानजस्तै । अरूलाई ठूला लागे पनि ती पहाड हामी नेपालीहरूलाई भने साना लाग्छन् । रूखहरू पनि नेपालका भन्दा सानासाना । पहाडमा जंगल होइन वन र बगैंचाले ढाकेजस्तो देखिएको थियो ।
गर्मी महिनामा पनि पहाडहरूमा हिउँ, चिनी छरेजस्तै देखिएको थियो । हिउँदमा यी पहाडहरू हिउँले ढाकिएर बरखी बारेको मानिसजस्तै देखिन्छन् होलाजस्तो लाग्यो । अझ त्यहाँ घाम पर्दा त आफूले पहाडलाई होइन पहाडले आफूलाई हेरेजस्तो लाग्दोरहेछ । पहाडहरूमाथि गएर सहरहरू हेर्दा नेपालकै उपत्यका हेरेजस्तो आभास भयो ।  
त्यो समुन्नतिले मोहित नबनाउने कुरै थिएन । आखिर हाम्रैजस्तो पहाडी देशलाई पनि यसरी विकास गर्न सकिँदोरहेछ । चौडा र चिल्ला बाटाघाटा र सुन्दर भवन निर्माण गर्न पहाड बाधक नहुने रहेछन् भन्ने लाग्यो । त्यसै त नेताहरूले हामीलाई स्विट्जरल्यान्डको सपना देखाएका होइन रहेछन् ।
छुट्टी मनाउनुभन्दा पनि 'म पनि स्विट्जरल्यान्ड घुमेको छु है' भनेर विद्यार्थी साथीहरूलाई गफ दिन दुई दिनको तुफानी यात्रामा गएको थिएँ । पछि काम विशेषले स्विट्जरल्यान्ड जाने अवसर बारम्बार मिलिरह्यो । अनि समान भूगोलको नेपाल किन समृद्ध हुन सकेन भन्ने कुराले पिरोलिरह्यो । गैरआवासीय नेपालीको युरोप क्षेत्रीयस्तरको बैठकका लागि हालै जुरिक भ्रमण गरेपछि चाहिँ लेख्न मन लाग्यो, सपना देखाइएको देश र हाम्रो बारेमा ।     
स्विट्जरल्यान्ड धेरै हिसाबले नेपालजस्तै छ । पहाडै पहाड छ । समुद्रसँग जोडिएको छैन । फरक स्विट्जल्यान्ड विकासको चुचुरोमा छ, हामी फेदीमा छौं । बैठकमा आमन्त्रित उद्यमी राजेन्द्र खेतान पहाडमै केही भिन्नता रहेछ र हामीले विकास गर्न नसकेका हौं कि भनेर स्विट्जरल्यान्डको पहाड चहार्दै थिए । केही पहाड घुमेपछि उनको निष्कर्ष थियो, पहाड त उस्तै रहेछन् । 'यो युरोपको नेपाल हो,' उनी भन्दै थिए, 'नेपाल एसियाको स्विट्जरल्यान्ड हो ।' खालि पूर्वाधार बनाउन नसकिएको मात्र त रहेछ ।
नेपालसँग आर्थिक सहयोग सम्झौतामा हस्ताक्षर गर्ने सुरुका देशहरूमा स्विट्जरल्यान्ड पर्छ । त्यसपछिका पचास वर्षमा साझेदारी रणनीतिहरूमा परिवर्तन भएका हुन सक्छन्, तर विकास निर्माण र सामाजिक सुधारका लागि स्विस सहयोग यथावत् छ । नेपाल-स्विस साझेदारीका सुरुवाती आधार तयार पार्ने कामको नेतृत्व प्रख्यात स्विस भूगर्भविद् टोनी हागनलगायतले गरेका थिए । नेपालमा स्विस सरकारको प्रारम्भिक विकास सक्रियता चीज र गलैंचा उत्पादनमा केन्दि्रत रह्यो । संयुक्त राष्ट्रसंघका लागि नेपालको भौगर्भिक सर्वे गर्ने पहिलो व्यक्ति हागन नै थिए । १४ सय किलोमिटर पैदलयात्रा गरेर उनी नेपालका सबै जिल्ला पुगेका थिए । नेपालमा स्विस प्राविधिक सहयोगको स्थापना गर्ने हागनले झन्डै पचास वर्ष नेपालको आर्थिक विकास तथा प्राविधिक सहयोगमा नै बिताए । सन् २००३ मा पचासी वर्षको उमेरमा उनको मृत्यु भयो ।
नेपालको वन संरक्षणमा स्विट्जरल्यान्डको महत्त्वपूर्ण भूमिका छ । सामुदायिक वन संरक्षण अभियानले वनजंगल र तिनमा आश्रति मानवको जीवनमा धेरै परिवर्तन ल्याएको छ । सडक निर्माण, स्वास्थ्य र शिक्षाजस्ता आधारभूत आवश्यकतामा पहुँच पुर्‍याएको छ । पहाडी मुलुकमा आवतजावतको कठिनाइलाई मनन गर्दै स्विट्जरल्यान्डले नेपालमा सुरुदेखि नै पुल निर्माणमा समेत सहयोग गर्दै आएको छ । तर विदेशीको सहयोगले मात्र मुलुक विकास नहुने रहेछ । समान खालको भौगोलिक अवस्थितिको मुलुकको अनुभव मात्र पर्याप्त नहुने रहेछ । विकास त हामी आफैंले गर्नुपर्ने रहेछ ।  
यस बीचमा हाम्रा नेता, उच्चपदस्थ कर्मचारी धेरैले स्विट्जरल्यान्डको अनुभव बटुल्ने अवसर पाएका छन् । जतिसुकै भ्रमण गरे पनि विकासको सट्टा विनाश र जातजातिबीच एकआपसमा विद्यमान सामाजिक सद्भाव बिगि्रँदै गएको देख्दा हामीले उल्टो पो सिक्यौं कि भनेर शंका गर्नुपर्ने भएको छ ।
जम्मा ४१ हजार वर्गकिमि क्षेत्रफल र ७५ लाख जनसंख्या भएको युरोपको केन्द्रमा रहेको यो सुन्दर देशको अनुहार धेरै हिसाबले नेपालसँग मिल्छ । तैपनि हामी जहाँको त्यही छौं, उनीहरू कहाँ पुगिसके । स्विट्जरल्यान्ड संघीय गणराज्य हो । राज्यपरिषद्ले प्रत्येक वर्ष पालैपालो राष्ट्रपति चुन्ने गर्छ । नेपाललाई संघीय गणराज्य घोषणा गरेको पनि ६ वर्ष नाघिसक्यो । आफूलाई सुम्पेको जिम्मेवारी नै पूरा नगरी संविधानसभा भङ्ग भयो । अर्को संविधानसभा निर्वाचनको संघारमा हामी आइपुगेका छौं ।
पर्यटन र कृषि क्षेत्रमा स्विट्जरल्याण्ड समृद्ध छ । त्यहाँको जेनेभा, जुरिक, बर्नलगायतका सहर र पहाड हेर्न पर्यटकको ओइरो लाग्छ । कृषिमा पशुपालन -खासगरी गाई) मा स्विट्जरल्यान्ड प्रसिद्ध छ । त्यहाँको चीज र चक्लेट संसारभरि कहलिएका छन् । स्विस घडीलाई अरूले चुनौती दिन सकेका छैनन् ।   
स्विट्जरल्यान्डको द्रुत विकासको एउटा कारण त्यहाँका बैंकहरूमा संसारभरिका धनी मानिसहरूले विश्वास गरेर जम्मा गरेको धन हो । स्विस बैंकहरू ग्राहकको गोपनीयता राख्ने कुरामा कहलिएका छन् । स्विस बैंक रहेको जमिनमुनि अरबतिरका धनाढ्यको सुन टनका टन भएको त्यहाँका बासिन्दा बताउने गर्छन् । नेपालका समेत केही धनी मानिसहरूको धन स्विस बैंकमा जम्मा भएको कुरा पञ्चायतकालमै सुनिन्थ्यो । सन् २००२ मा संयुक्त राष्ट्रसंघको सदस्यता लिएपछि र अहिले सम्पत्ति शुद्धीकरणको विश्वव्यापी अभियानका कारण स्विट्जरल्यान्डमाथि दबाब बढ्दो छ ।  
स्विट्जरल्यान्डमा जस्तो प्रकृति छ, त्यो नेपालसँग छ । त्यो पहाडी देश पनि पेट्रोलियम, सुन, हीरा खानीमा धनी होइन । स्विट्जरल्यान्डमा जताततै पहाडलाई छेडेर सुरुङ मार्ग बनेका छन् । हाम्रा लागि त्यो असम्भव छैन । पूर्वाधार भए हामीकहाँ पनि पर्यटकको ओइरो लागिहाल्छ । काठमाडौं उपत्यकाका साथै पोखरा, जिरी, पाल्पा, इलाम, जोमसोमलगायत दर्जनौं ठाउँ छन्, जसलाई जुरिक, जेनेभा र बर्नजत्तिकै आकर्षक बनाउन सकिन्छ ।  
हाम्रा हिमालभन्दा निकै होचा हिमालहरूमा स्कीलगायत अन्य स्नो एडभेन्चरको मज्जा लिन यहाँ लाखौं पर्यटकहरू बर्सेनि आउने गर्छन् । यो हाम्रा लागि असहज हुने कुरा भएन । जेनेभा र जुरिक लेकले लाखौं पर्यटक आकषिर्त गर्छ । हामीसँग फेवा, रारा, फोक्सुन्डोजस्ता तीभन्दा सुन्दर ताल छन् । नभएको बाटोघाटो हो । पूर्वाधार बनिदिए भारत र चीनको विकाससँगै उच्च र उच्च मध्यमवर्गीय परिवारका प्रमोसन भएका पर्यटक नै थेगिनसक्नु हुने थिए । कृषिमा अपार सम्भाावना छ । जैविक विविधताको कारण कृषिजन्य उत्पादन निर्यातबाटै हामीले धेरै कुरा पाउन सक्थ्यौं । तर हामीलाई देखाइएका सपनालाई साकार पार्ने दूरदृष्टि र इमानदारी हाम्रो नेतृत्वमा कहिल्यै भएन ।
गैरआवासीय नेपालीको बैठकको उद्घाटनमा स्विट्जरल्यान्डकी पूर्व फेडरल चान्सलर डा. अन्नामारी ह्युबर होट्ज उपस्थित थिइन् । बैठकको उद्घाटन समारोह सकिएपछि उनीसँग एकैछिन भलाकुसारी गर्ने अवसर मिल्यो । नेपाललाई असाध्यै माया गर्ने यी महिलाले दुईजना धर्म पुत्रीसमेत नेपालबाटै ल्याएकी रहिछन् । निकैपटक नेपाल भ्रमण गरेकी उनले मलाई सोधिन्, 'म धेरैपटक नेपाल पुगें । प्रत्येकपटक नेपाल जाँदा त्यहाँको अवस्था झन्झन् खस्कँदै गएको जस्तो लाग्छ । त्यति धेरै सम्पदा भएको त्यति सुन्दर देश, मिहिनेती र शालीन नागरिक हुँदाहुँदै पनि के कारणले होला अझै पनि यति धेरै पछाडि छ ? हाम्रो देशमा जस्तै नेपालको उत्तरोत्तर समृद्धि भएको देख्ने मेरो सपना प्रत्येक भ्रमणमा दुर्घटनाग्रस्त हुन्छ र म सधैं मलीन भाव बोकेर फर्किन्छु ।'
स्विट्जरल्यान्डमा बस्ने नेपाली साथीहरूका अनुसार स्विसहरू नेपालप्रति सद्भाव राख्छन् । पहाडी मुलुक भएकै कारणले पनि तिनीहरूमा नेपालप्रति सद्भाव थपिएको छ रे । बैठकमा नेपालमा स्वयम्सेवक भएर लामो समय काम गरेका केही स्विस सरकारी तथा गैरसरकारी संस्थासँग आवद्ध व्यक्तिहरूको सहभागितामा एउटा सेसन नै सञ्चालन गरियो । नेपालको जनस्वास्थ्यमा उल्लेख्य योगदान गरेकी एक स्विस चिकित्सक त मेरो गृहनगर  रत्ननगर -चितवन) अस्पतालमा केही समय काम गरेकी रहिछन् । 'हाम्रो देशजस्तै नेपाल पनि हिमाल, पहाडको देश हो । बहुसंख्यक मानिसहरू बसोवास गर्ने ती दूरदराजमा चिकित्सकहरू जान नखोज्ने प्रवृत्ति निकै निराशाजनक हो,' तिनको गुनासो थियो । हुन पनि सहरका गल्लीगल्ली डाक्टरका साइनबोर्डले छेकिने तर दुर्गम गाउँमा वर्षको एकपटक पनि डाक्टरको मुख नदेखिने प्रवृत्ति व्यवस्था र सरकार आए पनि ज्यूँका त्यूँ छ । कानुन र सुविधा अर्थात् कर्तव्य र अधिकारको स्पष्ट कार्यान्वयन भएमा सरकार र डाक्टरको लडाइँमा आम जनताहरूले मिचाइँ भोग्नुपर्ने थिएन ।
ओसाका, मस्को, लन्डन, न्युयोर्क विश्वका महँगा सहरमा दरिएका छन् । जुरिक पनि कम्ता महँगो लागेन । जुरिक एयरपोर्टबाट सहरसम्म जम्मा बीस मिनेट ड्राइभमा ट्याक्सी भाडा ९० फ्रान्क अर्थात् झन्डै १०० डलर तिर्नुपर्दा र त्यहाँको अरू महँगी देखेपछि र्फकने बेलामा एकजना सहभागी मित्रले मजाक गर्दै भने, 'यस्तै महँगी हुने हो भने अहिलेकै नेपाल ठीक छ ।' अहिले लाग्छ, नेपाल एसियाको स्विट्जरल्यान्ड हो भने स्विट्जरल्यान्ड पृथ्वीको स्वर्ग ।
 -Via Kanthipur
प्रकाशित मिति: २०७० श्रावण ८ १२:५२

Share this article :

0 comments:

Post a Comment

Recent Posts

पुराना पोस्टहरु

Nepali Date Convertor

 
Support : FOOT1 | FOOT2 | FOOT3 | FOOT4 | FOOT5 | FOOT6 | FOOT7
Copyright © 2011. Gaurab Shrestha | गौरब श्रेष्ठ - All Rights Reserved
Blog Design by Gaurab Shrestha Helped by Ram Sharan Shrestha
Proudly powered by BLOGGER