Home » » जीवन काँडा कि फूल-झमक

जीवन काँडा कि फूल-झमक


साहित्यकार झमक घिमिरेको नाम नेपाली साहित्यको क्षेत्रमा निक्कै आदरका साथ लिइन्छ । उहाँको आत्मपरक निबन्ध संग्रह ‘जीवन काँडा कि फूल’ नामक कृतिले यस वर्षको मदन पुरस्कार प्राप्त गरेपछि त झमकको चर्चा झन चुलिएको छ । गत विहिवार मदन पुरस्कार गुठीले उहाँलाई दुई लाख राशीको मदन पुरस्कार प्रदान ग-यो ।
प्रतिमस्तिष्कको रोगका कारण बोल्न नसक्ने साहित्यकार झमक देब्रे खुट्टाका दुई औलाले लेखेर नै साहित्य सिर्जना गर्नुहुन्छ । १५ वर्षको उमेरदेखि साहित्य सिर्जनामा लागेकी ३१ बर्षिय साहित्यकार झमक घिमिरेका यसअघि नै आधा दर्जनभन्दा धेरै साहित्यिक कृति प्रकाशित छन् ।
पारिजात पछि मदन पुरस्कार पाउने दोश्रो महिला श्रष्टा झमक घिमिरेसँग उज्यालो अनलाइनका लागि रविराज बरालले गरेको कुराकानी ।
मदन पुस्कार ग्रहण गरेपछिको अनुभूति ?
दबिएको आवाजको एउटा सारपूर्ण मुल्याकंन भएजस्तो लागेको छ । आमाले ‘तिमीले त नोबेल पुरस्कार पायौ’ भन्नुभयो । निक्कै खुसी छु ।
मदन पुरस्कार पाएपछि र त्यस अघिको फरक ?
त्यस्तो खासै त केही छैन । सयौँ फोन आउँछन् । शुभकामना दिने पनि उत्तिकै । चारैतिर पहिले भन्दा धेरै चर्चा भएको छ । जिम्मेवारी बढेको महसुस भएको छ ।
यो पुरस्कार पाउँछु भन्ने लाग्थ्यो ?
त्यस्तो खास मैले नै पाउनुपर्छ भन्ने दावा मैले कहिल्यै गरिन । तर मलाई म पनि योग्य छु र मेरो लेखन पनि योग्य छ भन्ने चाहिं लाग्थ्यो । के कारणले यो पुरस्कार मलाई दिने निर्णय गरियो त्यो त मलाई थाहा छैन तर जीवनको वास्तविक साहित्य पनि पुरस्कृत हुँदो रहेछ भन्ने पुष्टी भएको छ ।
‘जीवन काँडा कि फूल’ लेख्न तपाईंलाई के ले प्रेरित गर्यो ?

मैले भन्दा पनि बढी अपमान त मेरी आमाले खप्नुभयो । म जन्मिएपछि कतिपयले त  आमाको पापको कारणले यस्तो सन्तान जन्मेको भने रे । आमा पछिसम्म पनि रुनुहुन्थ्यो ति दिन सम्झेर । आमालाई केही गरेर देखाउँछु भन्ने लाग्थ्यो । सायद आँफैभित्रको पीडाले पो प्रेरित गरेछ की ?
मदन पुरस्कारले मोफसललाई भेदभाव गर्छ भनिन्छ नी ?
मलाई त त्यस्तो लाग्दैन । यसअघि नै कृष्ण धरावासीले यो पुरस्कार पाउनुभएको थियो । उहाँ पनि त मोफसलमा बसेर लेखेर नै चर्चा कमाएको श्रष्टा हो नि । काम गर्नेलाई भौगोलिक सीमाले छेक्छ जस्तो मलाई त लाग्दैन ।
‘जीवन काँडा कि फूल’ छोटकारीमा के हो ?
मैले भोगेको जीवन अनुभूति । अपांग भएर समाजमा पाएको पीडाको कथा । कष्ट र पीडालाई हाँसीहाँसी रमाएर सहनेहरुको कथा । काँडालाई फूलमा बदल्ने सबैको अनुभूति हो यो ।
कस्तो परिस्थिति र समयमा साहित्य सिर्जना गर्न रुचाउनुहुन्छ ?
समय र परिस्थिति त्यस्तो कुरा रहेछ जुन मान्छेले जीवन बाँच्दै जान्छ, स्वत निर्माण हुँदै जाँदो रहेछ । मलाई यही समय भन्ने छैन । निकै दुखेको बेला अनि सञ्चो भएको बेला बढी लेख्छु ।
तपाईको प्रेरणाको श्रोत ?
झमकको जीवनका वरिपरि रहने पात्रहरु । अनि मेरा प्रिय पाठकहरु ।
मदन पुरस्कार पाएपछिका कुनै नयाँ योजना ?
म लेख्ने मान्छे, लेखि नै रहन्छु । एक चोटी पाउने यो फूल जस्तो जीवन पाठकहरुका लागि समर्पित गर्ने छु ।
Share this article :

1 comments:

Post a Comment

Recent Posts

पुराना पोस्टहरु

Nepali Date Convertor

 
Support : FOOT1 | FOOT2 | FOOT3 | FOOT4 | FOOT5 | FOOT6 | FOOT7
Copyright © 2011. Gaurab Shrestha | गौरब श्रेष्ठ - All Rights Reserved
Blog Design by Gaurab Shrestha Helped by Ram Sharan Shrestha
Proudly powered by BLOGGER